पेट्रोल डिजेलको मूल्य प्रतिलिटर ३० देखि ३५ रुपैयाँसम्म घट्न सक्ने

३ बर्ष अगाडि

काठमाडौं - पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन संसदिय समितिले निर्देशन दिएको छ ।

शुक्रवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि सामान्य नहुन्जेल सरकारले आयल निगमबाट विभिन्न शीर्षकमा लिँदै आएका करहरू ५० प्रतिशतले घटाउन निर्देशन दिएको समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सम्पूर्ण वस्तु तथा सेवा महँगीएर स्थिति असमान्य बनेको भन्दै यसलाई न्युनिकरण गरी राहत उपलब्ध गराउन पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउन समितिले निर्देशन दिएको हो ।

समितिले आयल निगम र सरोकारवालाहरूसँग छलफल गरेर अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र आयल निगमलाई यस्तो निर्देशन दिएको हो ।

कर घटाउने सम्बन्धमा आयल निगम र सरकार पनि सकारात्मक रहेको छ ।  आयल निगमदेखि सरकार सबैको सहमतिपछि नै यो निर्देशन दिएको हो । 

पेट्रोल डिजेलमा प्रतिलिटर ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्न सक्ने छ । त्यसो हुँदा पेट्रोल लिटरको १६५ देखि १७० रुपैयाँ र डिजेल लिटरको १६० देखि १६५ रुपैयाँसम्ममा आउने छ ।

निगमले अहिले थोक खरीद मूल्य सार्वजनिक नगरेपनि अहिलेको मूल्यमा पेट्रोलमा करिब ६५ रुपैयाँ र डिलेजमा ५० रुपैयाँ हाराहारी कर सरकारले उठाउँदै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया