बैंकहरूबाट कर्जा नपाउने समस्यालाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नु पर्छ  : शेखर गोल्छा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगी ९एसएमइ० ले बैंकहरूबाट कर्जा नपाउने समस्यालाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने बताएका छन् । 

उनले  एसएमईलाई ऋण दिन बैंकरवित्तीय संस्थाले ठूला अनि पूरा गर्नै नसकिने सर्तहरू राख्ने गरेको भन्दै त्यो अवस्थामा सुधार आउनु पर्ने बताएका हुन् ।  

बैंकहरूले ठूला व्यवसायीहरूलाई सहजै ऋण दिए पनि साना तथा मझौला उद्योगहरूलाई सकभर दिन नखोज्ने गरेको गोल्छाले बताए । सानो उद्योग व्यवसाय गर्न ऋण लिनका लागि धेरै धितो माग्ने गरेकाले पनि उद्यमीले कुनै व्यवसाय सुरु गर्नै नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 

“देशमा उद्यमशीलता विकास हुन नसक्नुको कारण पनि बैंकहरूले कर्जा दिन नखोजेकाले हो,” उनले भने, “बजेटमा साना तथा मझौला उद्यमीहरूले बिना धितो नै कर्जा लिन सक्ने व्यवस्था गरिए पनि नियमावली भने बनिसकेको छैन । यथाशीघ्र नियमावली बनाउने र साना तथा मझौला व्यवसायीलाई राहत दिने काम तत्काल सुरु हुनु पर्छ ।”

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रुपमा साना तथा मझौला उद्यमीलाई कर्जा प्रवाह गर्ने व्यवस्था गर्न समेत सुझाए । 

आयातमा निर्भर अर्थतन्त्रलाई विविधिकरण गर्न पनि साना तथा मझौला उद्योगलाई प्रवर्द्दन गर्नु पर्ने उनको बुझाइ छ । देशलाई समृद्ध बनाउन, आयातको निर्भरता कम गर्न तथा स्वदेशी उत्पादन बढाउन एसएमईलाई प्रोत्साहन गर्नु आवश्यक रहेको उनले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया