एजेन्सी - श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद्लाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका हुन् ।
‘देशको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले भने । देशको अर्थतन्त्र सुधार्नका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको विक्रमासिंघेको भनाइ छ ।
श्रीलंकाले केही महिनादेखि स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंकामा हाल इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । विदेशी मुद्राको अभाव भएसँगै इन्धन आपूर्ति लगभग ठप्प छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ ।
श्रीलंकाली आयल निगम उधारोका कारण चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न सक्ने अवस्थामा नरहेको पनि विक्रमासिंघले बताएका छन् । संसद्मा गरेको सम्बोधनका क्रममा उनले सिलोन पेट्रोलियम कर्पोरेसन ७ सय मिलियन डलर ऋणमा रहेको जनाए ।
कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमासिंघेले पनि अर्थतन्त्र तत्काल सुधार गर्ने सम्भावना नदेखिएको आलोचकहरूको भनाइ छ । आलोचनाबाट जोगिन विक्रमासिंघेले अघिल्लो सरकारका कारण देशमा आर्थिक संकट उत्पन्न भएको तर आफूले त्यसलाई उकास्न लागिपरेको बताउँदै आएका छन् ।
प्रतिक्रिया