काठमाडौं - पर्यटन क्षेत्रका श्रमिकहरुले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्य बृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।
पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल टे«किङ ट्राभल्स ¥याफ्टिङ एयरलाएन्स श्रमिक यूनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “ईन्धनमा भएको मूल्य बृद्धिसँगै सार्वजनिक यातायात लगायत मानवीय आधारभूत आवश्यकताका दैनिक उपभोग्य सामानहरुमा स्वतः मूल्य बृद्धि हुने भएकोले सर्वसाधारण जनता र विशेष गरी पर्यटन क्षेत्रमा काम गर्ने लाखौं श्रमिकहरुप्रतिको बाँच्न पाउने मौलिक अधिकारलाई यो सरकारद्वारा कुण्ठित गरिएको छ । सरकारले अहिले गरेको बाहानाबाजी र जस्तो सुकै तर्कहरु पेश गरे पनि श्रमिकमारा निर्णय तत्काल फिर्ता लिनु पर्दछ ।”
श्रमिक संगठनहरुले चेतावनी दिंदै भनेका छन्, “सरकारी उच्च अधिकारी तथा निगम अधिकारीबाट हुने ईन्धन दुरुपयोग र अन्य चुहावट व्यवस्थापनमा सुधार एवं ईन्धन आपूर्तिका लागि सस्तो बजारहरुको विकल्पको खोजि गर्नु पर्नेमा सम्पूर्ण भार जनता र लाखौं पर्यटन श्रमिकहरुको टाउकोमा बोकाउने गरि गरिएको मूल्य बृद्धि फिर्ता लिन अपिल गर्दछौँ । अन्यथा सडक संघर्षमा जानुपर्ने श्रमिकहरुको बाध्यतालाई सरकारले किमार्थ रोक्न सक्ने छैन ।”
कोभिड १९ ले पर्यटन क्षेत्र र यस क्षेत्रका श्रमिकहरु माथि पारेको असर सकिन नपाउँदै असार ५ गते राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बृद्धि भएपछि डिजेल र मट्टितेल प्रलिलिटर १ सय ९२ रुपैया र पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया निर्धारण गरिए पछि समस्या उत्पन्न भएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया