काठमाडौं- सानिमा बैंक लिमिटेडले भोलि (शुक्रवार)देखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ ।
कम्पनीले वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी ६० प्रतिशत अर्थात् रू.३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र कम्पनी आफैले व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ५ प्रतिशत सामूहिक लगानी कोषका लागि विक्रीको आह्वान गर्दा कुनै पनि आवेदन नपरेको कम्पनीले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार १४ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २४ गतेसम्म विक्री गरिने मिति तय भएको छ । सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।
यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने विक्री प्रबन्धकको भनाइ छ ।
प्रतिक्रिया