काठमाडौं - जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा गणपति झाले अवैध रुपमा सम्पत्ति आर्जनको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नायव सुब्बा झाले निजामति सेवामा रहँदा २ करोड ४४ लाख रुपैंया अवैध सम्पत्ति आर्जन गरेको अख्तिायरले जनाएको छ । सोही आधारमा झा बिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । झाले अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरि मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
२०३९ मंसिर ९ गते गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी) को पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका झा विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउनमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत हुँदा अवकास पाएका थिए ।
नायव सुब्बा झाले वैध रुपमा गरेको आम्दानीको तुलनामा २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बढी पैसा खर्च गरेको देखिएको र उक्त रकम सार्वजनिक पदमा रहँदा अवैध रुपमा आर्जन गरेको अख्तिारको विज्ञप्तिमा उल्लेख छ ।
२ करोड ४४ लाख ७१ हजार १०५ बिगो कायम गरी बिगोअनुसार जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा झा बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया