आन्दोलनरत लगानीकर्ताका माग सम्बोधन गर्न समिति गठन गर्ने तयारी

३ बर्ष अगाडि

काठमाडौं- आन्दोलनरत लगानीकर्ताका माग सम्बोधन गर्नका लागि एक समिति गठन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डका दुई जना प्रतिनिधि र लगानीकर्ताको तर्फबाट पाँच जना प्रतिनिधी समावेश हुने गरी समस्या समाधान समिति गठन गर्ने सहमति भएको हो ।

समितिमा नेपाल धितोपत्र बोर्डका तर्फबाट मुक्ति श्रेष्ठ र विनयदेव आर्चाय रहने भएका छन् भने लगानीकर्ताको तर्फबाट पाँच जना रहने गरी ७ जनाको समिति गठन गरिने भएको हो । उक्त समिति गठन भएपछि आजैबाट अनसन तोडिने भएको छ ।

हिजो भएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका अधिकांश माग मध्ये धेरैजसो जायज माग कार्यान्वयको क्रममा रहेको बताएका थिए ।

पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । 

बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसनमा बसेको आज ८ दिन भइसकेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया