काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यस आईपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ । आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
जसमा २ लाख १ हजार ९८६ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १३ लाख ६२ हजार ५३६ जनाको भने हात खाली हुनेछ । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर जारी गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया