ऋण असुली न्यायाधिकरणले सेयर बेचेर ऋण असुलीको प्रक्रिया अगाडि बढायो

४ बर्ष अगाडि

काठमाडौं - ऋण असुली न्यायाधिकरणले एक संस्थाको नाममा रहेको सेयर बेचेर ऋण असुलीको प्रक्रिया अगाडि बढाएको छ । न्यायाधिकरणले एक सूचना जारी गर्दै प्रतिवादी ललित मण्डप ट्राभल्स एन्ड दुर्स प्रालिसमेत भएको ऋण असुली मुद्दामा सेयर बेच्ने प्रक्रिया अगाडि बढाएको हो । 

यो मुद्दामा वादी ललितपुर फाइनान्स लिमिटेड ९हाल नेपाल फाइनान्स लिमिटेड०ले निवेदन दिई रोक्का रहेको सुरज शाक्यको नाममा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (साविक सगरमाथा फाइनान्स लिमिटेड) (सेयरधनी नं. १७३९६९) को ८९ हजार ४५६ कित्ता संस्थापक सेयर र (सेयरधनी नं. १९५६६५) को ४ हजार २१८ कित्ता साधारण सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरी ऋण असुलीको प्रक्रिया अगाडि बढाइएको छ । 

यो मुद्दा वादी बैंकले २०७१ सालमा ऋण असुली मुद्दा निवेदन दर्ता गरेको थियो । सोही निवेदनका आधारमा ऋण असुली न्यायाधिकरणको गत असार ३ गतेको आदेशअनुसार वादी बैंकले निवेदन दिई रोक्का रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो । 

न्यायाधिकरणबाट गत जेठ १७ मा भएको मूल्यांकन मुचुल्काका आधारमा उक्त सेयरको जम्मा एकमुष्ठ न्यूनतम १ करोड १६ लाख २० हजार ५०० रुपैयाँ कायम गरिएको छ । यो लिलामी सेयरमा इच्छुक व्यक्ति फर्म, संगठित संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । 

सूचना जारी भएको १५ दिनभित्र ऋण असुली न्यायाधिकरणको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा बोलपत्र पेस गर्न भनिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया