काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारका रूपमा छनोट भएका युवायुवतीलरहरूलाई पठाउन आवश्यक प्रक्रिया चलिरहेको बताएको छ ।
छनोटमा परेकाहरूले आफुहरूलाई पठाउन उचित तत्परता नदेखाएको गुनासो गरिरहेको बेला शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले सकेसम्म छिटो पठाउन प्रक्रिया शुरु गर्न विभिन्न प्रयासहरू भइरहेको बताएको छ ।
विभागले छनोटमा परेकालाई पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको बताएको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा छनोट भएका ११ सय ७५ जना श्रमिकमध्ये २ सय ९७ जना मात्रै इजरायल उडेका छन् ।
तर बाँकीको भने इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीहरूको आन्तरिक श्रम विवादका कारण भिसा जारी नभएको बताइएको छ ।
प्रतिक्रिया