काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा शुक्रबार दिउँसोसम्म झन्डै २०० गुणा बढिले आवेदन दिएका छन् । यो लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओमा आवेदन खुला गरेको छ ।
संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ हजार ३५० कित्ता ९५५० सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सीडीएससीका अनुसार आज दिउँसो पौने २ बजेससम्म यो आईपीओमा १० लाख ६० हजार ६८२ आवेदकबाट कुल १ करोड २१ लाख ३८ हजार ४२० कित्ता सेयर खरिद आवेदन परेको छ । जुन मागभन्दा १९३.८६ गुणा बढी हो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आईपीओको निष्कासन बन्द असार ६ गते बैंकिङ समयपछि हुनेछ ।
लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् । सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
आदर्श लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया