एजेन्सी - भारतको थोक महङ्गीमा आधारित मूल्य सूचकाङ्क २४ वर्षकै उच्चस्तरमा पुगेको छ । मे महिनामा थोक मुद्रास्फिति बढेर १५.८८ को उचाईमा पुगेको हो । अप्रीलमा यस्तो दर १५.०८ प्रतिशतमा सीमित थियो ।
भारतीय न्यूज एजेन्सीहरुका अनुसार यसअघि मार्च महिनामा यस्तो दर १४.५५ प्रतिशत, फेब्रुअरीमा १३।११ प्रतिशतमा सीमित थियो । भारतमा सागसब्जी लगायत अन्य वस्तुहरुको मूल्य अचाक्ली बढेसँगै थोक मुद्रास्फिति रेकर्ड स्तरमा पुगेको हो ।
सन् १९९८ को डिसेम्बरमा भारतको थोक मुद्रास्फिति १५.३२ प्रतिशतको स्तरमा पुगेको थियो । त्यो रेकर्डलाई समेत ब्रेक गरी मे महिनामा १५.८८ प्रतिशत पुगेको हो ।
अफिस अफ इकोनोमिक एड्भाइजर, डिपार्टमेन्ट अफ प्रमोसन अफ इण्डष्ट्री एण्ड इन्टरनल ट्रेडले हरेक महिनाको १४ तारिख वा त्यसभन्दा पछिको वर्किङ डेको दिन थोक मूल्य सूचकाङ्क सार्वजनिक गर्ने गर्दछ।
मे महिनामा भारतको खाद्यतर्फको मुद्रास्फिति बढेर १०.८९ प्रतिशत पुगेको छ । अप्रीलमा यस्तो दर ८.८८ प्रतिशत मात्र थियो । समाचारमा थोक मुद्रास्फिति लामो समयसम्म बढ्ने चिन्ता अहिले भारतमा व्याप्त बनेको उल्लेख छ । यस्तो महंगीदरले सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा प्रभाव पार्ने गर्दछ ।
भारतमा दुई खालको महंगी दर हेर्ने गरिन्छ । एउटा थोक र अर्को रिटेल । रिटेल मुद्रास्फितिलाई कञ्ज्यूमर प्राइस इण्डेक्सको रुपमा समेत बुझ्ने गरिन्छ ।
प्रतिक्रिया