काठमाडौं - नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरूको लागी पनि शंकास्पद कारोबार सम्बन्धी सूचना गोएमएल पोर्टलमार्फत् नै उपलब्ध गराउनुपर्ने प्रावधान लागू गरेको छ ।
यसअघि पाक्षिकरूपमा बीमा कम्पनीहरूसँग शंकास्पद कारोबार वा रकमको सीमा नाघेका बीमितबारे जानकारी माग गर्दै आएको बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले असार १ गतेबाट लागू हुने गरी अनिवार्य दैनिकरुपमा कारोबार सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । बीमा कम्पनीले सिडिमा र इमेलमार्फत पाक्षिक तथ्यांक पेश गर्दै आएका थिए ।
शंकास्पद कारोबार, निगरानीमा राखिनुपर्ने सूचीमा रहेका राजनीतिक पष्ठभूमीका व्यक्ति, रु १ लाख वा सोभन्दा बढी भुक्तानी गर्ने बीमितको सम्बन्धमा जानकारी पेश गर्नको लागी बीमा कम्पनीलाइ गोएमएल सफ्टवेयर प्रयोग गर्न सुझाव दिइएपनि अधिकांश बीमकले प्रयोगमा ल्याएका छैनन् ।
वित्तीय जानकारी इकाइ र बीमा समितिले समेत रु १ लाख वा सोभन्दा बढीको बीमाशुल्क नगद भुक्तानीका रुपमा स्वीकार गर्न बीमा कम्पनीलाइ रोक लगाएको छ । बीमितले रु १ लाख वा सोभन्दा बढी रकम भुक्तानी गर्नुपर्दा अनलाइन कारोबार चेक वा बैंक खातामा नगदै जम्मा गरेर सोको भौचर पेश गरेर मात्र भुक्तानी गर्न पाउने प्रावधान छ ।
शुरूमा जेठ १ गतेबाट नै यो प्रावधान लागू गर्ने घोषणा गरेपनि बीमा कम्पनीले तयारी नपुगेको भन्दै थप समय माग गरेपछि असार १ बाट हुने गरी अनिवार्य गरिएको हो ।
प्रतिक्रिया