असार १ गतेदेखि नेप्से ६ कारोबार दिन सञ्चालन हुने,समय कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं- असार १ गतेदेखि धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सेञ्च (नेप्से) ६ कारोबार दिन सञ्चालन हुने भएको छ । 

धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक बिदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिननै बजार सञ्चालन गर्ने तयारी गरेको हो । 

नेप्सेका कायम मुकायम प्रबन्धक निरञ्ज फुयालले अहिले नै निर्णय भइनसकेको भएपनि प्राविधिक कठिनाइ नहुने अवस्था आए ६ कारोबार दिननै बजार खुल्ने जानकारी दिए । 

उनका अनुसार सार्वजनिक बिदाको दिन र शनिबार बाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएका छन् ।

कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः३० बजेसम्म तय गर्ने छलफल भएको समेत उनले जानकारी दिए ।

सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पालना गर्दै त्यस अघि आइतवारदेखि बिहीवारसम्म चार कारोबार दिन सञ्चालन हुँदै आएको बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको हो । 

आइतवारको सार्वजनिक हट्ने भएसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने तयारी गरेको हो । 

६ कारोबार दिननै बजार सञ्चालन भएपनि राफसाफमा समस्या नहुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भनाइ छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हाल टि प्लस टु को व्यवस्था अनुसार नै शुक्रवार बजार खुला भएपनि राफसाफ गर्न सकिने जानकारी दिएका हुन् । 

सार्वजनिक बिदा बाहेकका ६ कारोबार दिननै बजार सञ्चालन गर्नु पर्नेमा आचार्यले जोड दिएका हुन् । उनले पहिला देखि नै ६ कारोबार दिननै बजार सञ्चालनका लागि सिडिएससीले नियामक निकायसँग माग गर्दै आएको समेत बताए । 

नेप्सेको कारोबार प्रणालीमा समस्या नहुने अवस्था आए ६ कारोबार दिनको धितोपत्र राफसाफ समयमै गर्ने प्रतिवद्धता समेत उनले गरे । (स्रोत आर्थिक अभियान)

४ बर्ष अगाडि

प्रतिक्रिया