काठमाडौं - वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरणको सूचना सार्वजनिक गरेको छ । विभागले इजाजतपत्र नवीरकरण गर्न चाहने वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीले अनिवार्य गरेका कागजातसहित निवेदन दिन आग्रह गरेको हो ।
वैदेशिक रोजगार व्यवसायी संघ तथा प्रमुख राजनीतिक दल निकट विभिन्न वैदेशिक रोजगार व्यवसायीको संस्थाले संख्या सय नपुगेका व्यवसायीको पनि इजाजत नवीकरण गर्ने व्यवस्था हुनुपर्ने माग गरिरहेको बेला विभागले नवीकरणका लागि सूचना सार्वजनिक गरेको हो ।
विभागले गत वर्ष पनि जेठ महिनाको अन्तिममा सूचना सार्वजनिक गरेर नवीकरणका लागि आह्वान गरेकोे थियोे । गत वर्ष असार १४ र त्यसभन्दा अघिल्लो वर्ष असार २९ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार ऐनको बाधाअड्काउ दफा ८२ प्रयोग गरी सय जना कामदार पठाउन नपाएका समेत सबैको इजाजतपत्र नवीकरण गर्ने निर्णय गरेकोे थियोे ।
विभागले इजाजतपत्र नवीरकण गर्न चाहने वैदेशिक रोजगार व्यवसायीहरुलाई निवेदनका साथमा नवीकरण दस्तुर बुझाएको भर्पाई, कम्पनी दर्ताको प्रमाणपत्र, आयकर दर्ताको प्रतिलिपि, गत आर्थिक वर्षको कम्पनी अध्यावधिक, डिजिटल म्यापसहित कम्पनी कार्यालय रहेको ठेगाना, गत वर्षको कर बुझाएको कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया