काठमाडौं - नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ ।
श्रम समझदारीको मस्यौदा बनाउन गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साता हस्ताक्षर गर्न लागिएको बताएको छ ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेकी छन् ।
मन्त्रालयमा भएको भेटवार्तामा श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रक्रियाबाटै शुरु भएको बताए ।
बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउने तयारी रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।
यसअघि नयाँ रोजगार गन्तव्यको खोजीको क्रममा मन्त्री श्रेष्ठले बेलायतसँग श्रम सम्बन्ध स्थापनाका लागि पहल गर्दै आएका थिए । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो ।
रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने क्रममा आफुले आकर्षक गन्तव्यको खोजी गरिरहेको मन्त्री श्रेष्ठले बताए ।
प्रतिक्रिया