एजेन्सी - जापानी येन सन् २००२ यताकै कमजोर भएको छ । यो सँगै जापानको केन्द्रीय बैंक, अर्थ मन्त्रालय र केही वित्तीय संघसंस्थाले संयुक्त रुपमा काम गरी येनलाई थप कमजोर हुन नदिने एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
बैंक अफ जापानका पदाधिकारीहरुसँग छलफल गरेपछि जापानका वरिष्ठ मौद्रिक रणनीतिज्ञ मासाटो कान्डाले छलफलबाट प्रतिपादन भएका समाधानहरुलार्ई सावधानी पूर्वक लागू गर्ने जानकारी गराए ।
उनले, मुद्रा अवमूल्यन हुँदै गरेका अरु देशहरुसँग समन्वय गरी यस समस्याको समाधान गर्ने बताएका छन् । जी ७ देशहरुको सूचीमा रहेको जापानले यस समूह अन्तर्गतका देशहरुसँग मुद्रामा आएको कमी र यसले आर्थिक वृद्धि दरमा ल्याएको गिरावटका विषयमा छलफल गर्ने भएको छ ।
संयुक्त विज्ञप्ति जारी गरी जापानी येन अस्वभाविक रुपले कमजोर बन्दै आएको र यसले बजारमा ल्याएको असर प्रति आफूहरुको ध्यानाकर्षण भएको अर्थ मन्त्रालय, बैंक अफ जापान र केही वित्तिय संघसंस्थाले जनाएका छन् ।
विभिन्न समारोहमा एकै साथ रहने अर्थ मन्त्रालय, बैंक अफ जापान र वित्तीय संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नु विरलै रहेको समाचार माध्यम रोयटर्सले जनाएको छ ।
संयुक्त विज्ञप्ति पछि डलर ०.७० प्रतिशतले घट्दा येन र डलरबीचको विदेशी विनिमय १ डलर बराबर १३३.४१ येनमा भइरहेको छ ।
प्रतिक्रिया