मुद्रास्फीति शतप्रतिशत बढीले बढ्यो, कति छ विदेशी मुद्रा सञ्चिती ?

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.८७ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा शतप्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशतमा सीमित थियो। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ।

२०७७ चैतको तुलनामा २०७८ चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दूधजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडी र सूर्तीजन्य पदार्थको उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत र १०.५३ प्रतिशत रहेको छ। यसका साथै गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र विविध वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ।

समीक्षा अवधिसम्म व्यापार घाटा पनि ह्वात्तै बढेको छ। वैशाखसम्म कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर रु. १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा २१.५ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्ष १० महिनामा कुल वस्तु निर्यात ५९.८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७३ अर्ब ३५ करोड पुगेको छ। गत वर्ष यही महिना यस्तो निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको थियो। 

वैशाख महिनासम्म कुल वस्तु आयात २८ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ४ अर्ब ६५ करोड पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आयात २२.३ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा चालु खाता रु. ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. २ खर्ब ५१ अर्ब २९ करोडले घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ४ अर्ब ५७ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो। 

विदेशी विनिमय सञ्चिती

२०७८ असार मसान्तमा रु.१३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा रु. ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ। 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई रु.१० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६(१ प्रतिशतले कमी आई रु.१ खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५. १ प्रतिशत रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया