काठमाडौं, गत वर्षको बैशाख मसान्तमा २६८४.१ रहेको नेपाल स्टक एक्सेञ्च (नेप्से) सूचकाङ्क ३३४ अंकले घटेर २०७९ बैशाख मसान्तमा २३५०.४ पुगेको छ ।
चालु आवको बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरणमा रु.३३ खर्ब ४३ अर्ब ५६ करोड पुगेको छ । गत वर्षको बैशाख मसान्तमा बजार पुँजीकरण रु.३७ खर्ब २४ अर्ब ५ करोड रहेको थियो ।
२०७९ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४८ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।
नेप्सेमा समीक्षा अवधीसम्ममा सूचीकृत ६ अर्ब ७१ करोड शेयरको चुक्ता मूल्य रु. ६ खर्ब ६२ अर्ब १० करोड रहेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को दश महिनासम्ममा रु.५४ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, ४९ अर्ब ३४ करोड बराबरको बोनस शेयर, रु.४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.२२ अर्ब ७ करोड बराबरको साधारण शेयर, रु.९ अर्ब ४० करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१८८ अर्ब २२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु.४ अर्ब ५५ करोड बराबरको साधारण शेयर र रु.३ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर गरी कुल रु. १८ अर्ब बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया