१० महिनामा ८ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो,  श्रम स्वीकृति लिने संख्या उल्लेखनीय रुपमा वृद्धि

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाखसम्ममा करिब ८ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ। 

केन्द्रिय बैंकले प्रकाशित गरेका बैशाखसम्मको मासिक विवरण अनुसार १० महिनामा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २ सय ९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया