एजेन्सी - रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडेका छन् । तीमध्ये ४८ लाख जनाले शरणार्थीका लागि विभिन्न देशमा निवेदन दिएका जनाइएको छ । राष्ट्रसंघका अनुसार रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनी छिमेकी देशहरूमा पुगेका थिए ।
तीमध्ये २१ लाख स्वदेश फर्केका राष्ट्रसंघीय शरणार्थी निकाय ९यूएनएचसीआर० ले जनाएको छ । ८० लाख युक्रेनी देशभित्रै विस्थापित भएका हुन् । युक्रेनबाट विस्थापित भएकामध्ये सबैभन्दा बढी छिमेकी देश पोल्यान्ड पुगेका छन् ।
राष्ट्रसंघका अनुसार विस्थापितमध्ये ३६ लाख ९० हजार ९६ जना पोल्यान्डमा शरणार्थीका रूपमा रहेका छन् । त्यहाँबाट १५ लाख १२ हजार १९२ जना स्वदेश फर्केका छन् । त्यस्तै, ५ लाख ८७ हजार २१९ जना रोमानियामा छन् भने २ लाख ८३ हजार ४७५ जना फर्किसकेका छन् ।
रुसमा ९ लाख ४५ हजार ७ र हंगेरीमा ६ लाख ५४ हजार ६६४ जना शरणार्थीका रूपमा छन् । मोल्दोभाले ४ लाख ८३ हजार ३०६ जनालाई आश्रय दिएको छ । १ लाख १० हजार ३१३ जना फर्केका छन् ।
अन्य विस्थापितहरू स्लोभाकिया र बेलारुस पुगेका छन् । स्लोभाकियाबाट १ लाख ९६ हजार ६७ जना युक्रेन फर्के पनि ४ लाख ६६ हजार २६४ जनाले आश्रय लिएका छन् । १६ हजार ६४८ जना बेलारुसमा शरणार्थीका रूपमा रहेका राष्ट्रसंघले जनाएको छ ।
यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले दैनिक २०० को हाराहारीमा आफ्ना सैनिक मरिरहेको बताएका छन् । जेलेन्स्कीका वरिष्ठ सहयोगी मिखायलो पोदोलियाकले रुसी सेनाविरुद्ध अग्रपंक्तिमा लडिरहेकामध्ये दैनिक १०० देखि २०० सैनिक मरिरहेको दाबी गरेका हुन् ।
यसअघि युक्रेनी रक्षामन्त्रीले दैनिक झण्डै १०० सैनिक मरिरहेको र ५०० सयभन्दा बढी घाइते भइरहेको बताएका थिए। पोदोलियाकले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध जारी रहेको र रुसको सामना गरिरहन सयौँ पश्चिमी मिसाइलको आवश्यकता पर्ने बताए ।
जेलेन्स्कीका सहयोग पोदोलियाकले रुसले परमाणु बमबाहेक सबैजसो शक्तिशाली हतियार प्रयोग गरिरहेको भन्दै ती हतियारको सामना गर्न युक्रेनलाई पश्चिमा देशले ठूलो क्षमताका हतियार दिनुपर्ने बताए । बीबीसीसँगको कुराकानीमा उनले किभ मस्कोसँग फेरि शान्तिवार्ताका लागि तयार नरहेको बताए ।
प्रतिक्रिया