बोर्डको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको २९ वर्ष पूरा गरी ३० औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । 

बोर्ड अध्यक्ष रमेश कुमार हमालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय अर्थ मन्त्री श्री जनार्दन शर्मा प्रभाकारज्यूले आतिथ्यता ग्रहण गरेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी र राजस्व सचिव कृष्ण हरि पुस्करज्यू, विद्युत नियमन आयोगका अध्यक्ष र बोर्डका सञ्चालक समितिका सदस्यहरु रहेका थिए ।

यस्तै कार्यक्रममा बीमा समितिका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत, बोर्डका पूर्व अध्यक्षहरु, बोर्डका कार्यकारी निर्देशकज्यू लगायत अन्य कर्मचारीको समेत ंउपस्थिति रहेको थियो । साथै धितोपत्र बजार सहभागीहरु, लगानीकर्ता, आर्थिक पत्रकारहरु लगायत अन्य सरोकारवाला पक्षहरुको समेत सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

उक्त कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकारज्यूले धितोपत्र बजारको नियमन निकायको रुपमा रहेको बोर्ड स्वायत्त निकाय रहेको बताउँदै जवाफदेहितासहितको स्वायत्तता प्रदर्शित हुने गरी नियमन निकायहरु प्रस्तुत हुनुपर्नेमा विशेष जोड दिए  । 

नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक एवं विश्वसनीय बनाउन प्रविधिको प्रयोगमा विशेष जोड दिनुपर्ने बताउँदै बोर्डको संस्थागत क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखी हाल प्रक्रियामा रहेका बजार सुधार तथा विकासका कार्यहरुलाई चाँडै नै टुङ्गोमा पुर्याउन निर्देशन समेत दिए  । 

यस कार्यमा मन्त्रालय सकरात्मक रहेको र आवश्यक सहजीकरण समेत गर्ने विश्वास दिलाए । मन्तव्यकै क्रममा उनले लगानीकर्ताको हक हितको संरक्षणका लागि नियमनकारी निकायको क्षमता अभिवृद्धि तथा वित्तीय बजारका नियमनकारी निकायहरुबिच समन्वय हुनुपर्ने बताए । 

हालको बजेटले धितोपत्र बजारमा क्षेत्रगत विविधता प्रवद्र्धनमा जोड दिएको, गैर आवासीय नेपालीहरूलाई लगानी खुला गर्न कानुनी व्यवस्था, एसएमइ, उद्यमशिलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनसम्बन्धमा नीतिगत व्यवस्था गरिएको बताए । मन्तव्यकै क्रममा उहाँले बजारको परिपक्व विकासका लागि धितोपत्र बजारसम्बन्धी साक्षरतामा कमी देखिएको बताउँदै यसको अभिवृद्धिका लागि तदारुकताकासाथ आवश्यक कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए  । 

वैज्ञानिक तरिकाबाट परिसुचकहरु तयार गर्नुपर्ने, औजारगत विविधिकरण गर्नुपर्ने लगायतका विषयहरुलाई विशेष ध्यान दिई नेतृत्व अगाडि बढनुपर्ने धारणा राखे । उनले वित्तीय प्रणालीमा देखिएका समस्याहरुको अध्ययन गरी सुझाव पेश गर्नका लागि चार सदस्यीय समिति गठन गरेको बताउँदै हाल देखिएको समस्याको इमान्दारितका साथ यथोचित सम्बोधन सरकारको प्राथमिकतामा रहेको बताए ।

कार्यक्रममा बोर्ड अध्यक्ष रमेश कुमार हमालले स्वागत मन्तव्य दिँदै विगत तीन दशकको अवधिमा बोर्डलाई आजको स्थानमा ल्याउन योगदान दिनु हुने पुर्व अध्यक्ष तथा सदस्यहरुलाई उच्च सम्मानका साथ स्मरण गरे । विगतको कोभिडको समयमा उच्च विन्दुमा रहेको बजार पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा देखिएको असहज परिस्थिति र राष्ट्रिय स्तरमा देखिएको वित्तीय असन्तुलनका कारण पुँजी बजारमा केही समस्याहरु देखिएको बताउँदै लगानीकर्ताले भोग्नुपरेको समस्याहरुप्रति बोर्ड सजग रहेको र यसको उचित निकास दिनेमा बोर्ड प्रतिबद्ध रहेको बताए । 

लगानीकर्ताको उच्च मनोबल एवम् पुँजी बजार लगायत समग्र वित्तीय प्रणालीमा देखिएका समस्या समाधानका लागि अन्य नियमनकारी निकायसँग समन्वय गर्न बोर्ड तयार रहेको बताउँदै पछिल्लो समय बोर्डमा भएका प्रगतिको बारेमा जानकारी दिए । उनले बजारको आगामी चार महिनामा एसएमइ प्लेटफर्मको स्थापना, गैर आवासीय नेपालीलाई बजारमा प्रवेश गराउने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्र निष्काशनमा आरक्षणको व्यवस्था मिलाउने, देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्षद्धय राजु बहादुर जि.सि. र श्री हरि प्रसाद भुसालले आफ्नो मन्तव्य राख्दै बजारमा देखिएको समस्या समाधानका लागि कर्मचारीहरु प्रतिबद्ध र कटिबद्ध रहेकोे बताउँदै बोर्डको संस्थागत क्षमता अभिवृद्धि र समग्र कर्मचारीको हक हित प्रति संवेदनशिल हुुनुपर्ने धारणा राखे । 

३ बर्ष अगाडि

प्रतिक्रिया