दोर्दी खोलाको आईपीओमा करिब लाखले दिए आवेदन,कति कित्ता खरिदमाग ?

४ बर्ष अगाडि

काठमाडौं- दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ पहिलो दिन २ लाख ९६ हजार १३ जनाले भरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन अर्थात् बिहीवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रु.३५ करोड ८० लाख ४८ हजार बराबारको ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १.७७ गुणा बढी आवेदन परेको हो ।

पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रु. १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रु. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि अर्थात् जेठ ३१ गते गतेसम्म मात्र विक्रीमा रहनेछ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन पाउने व्यवस्था छ । साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया