काठमाडौं- नबिल बैंकले काठमाडौं महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ।
काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन्। नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौं महानगरको आह्वानअनुरुप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो।
महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ।
बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत स्वयंले गर्नेछ। यसका साथै शौचालयको नियमित मर्मतसम्भार र सरसफाइ, पानीको प्रबन्ध र निकासको व्यवस्था दुरुस्त राख्नेछ। बैंकका अनुसार यो सम्झौता पाँचवर्षे अवधिका लागि गरिएको हो।
महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार–चार महिनामा गर्नेछ।
प्रतिक्रिया