काठमाडौं - प्रतिनिधिसभाका सांसदहरुले युवालाई सीपमूलक तालिम दिएमा स्वदेशमा नै रोजगारी र वैदेशिक रोजगारमा राम्रो आम्दानी गर्न सक्ने बताएका छन् ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले उक्त धारणा राखेका हुन् ।
उपयुक्त तालिम उपलब्ध नभएको, भएको तालिम पनि प्रभावकारी नभएको उनीहरुले गुनासो गरे । छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले वैदेशिक रोजगारमा जानुअघि हाल दिइने तालिम नाम मात्रका रहेकोे भन्दै तालिमको गुणस्तर वृद्धिको माग राखिन् ।
श्रम मन्त्रालय आन्तरिक रोजगार वृद्धि भन्दा वैदेशिक रोजगारमा जान चाहनेहरुलाई श्रम स्वीकृति मात्र दिने निकायमा परिणत भएको भन्दै सांसद पौडेलले मन्त्रालयले स्वदेशमा श्रम गर्ने कामदारका लागि नीति निर्माण र योजना तर्जुमा गर्नुपर्ने धारणा राखिन् । वैदेशिक रोजगारीबाट सीप सिकेर स्वदेश फर्केका युवायुवतीलाई मुलुकभित्रै रोजगारीमा जोड्ने कार्यक्रम आवश्यक भएको बताइन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सामान्य सीप सिकाउने हो भने उनीहरूले हाल गरिरहेको भन्दा तेब्बर आम्दानी गर्ने बताए । वैदेशिक रोजगारमा जाने वा पठाउने कामलाई समाजले नकारात्मकरूपमा लिन नहुने भन्दै सांसद कर्णले वैदेशिक रोजगारलाई उपलब्धीमूलक बनाउन सरकारले ध्यान दिनेपर्ने बताए ।
प्रतिक्रिया