माइतीघरमा लगानीकर्ताको नारा बाजी - '४/१२ को क्याप खारेज गर, जोखिमभार १००%मा झार'

४ बर्ष अगाडि

काठमाडौं- शेयर लगानीकर्ताहरुले अहिले माइतीघरमा पुगेर प्रदर्शन थालेका छन् । प्रहरीले तिलक कोइरालासहित ५ जनालाई प्रहरीले पक्राउ गरेपछि लगानीकर्ताहरुले माइतीघरमा पुगेर प्रदर्शन थालेका हुन् । 

कालो ब्यानरसहित त्यहाँ पुगेका लगानीकर्ताहरुले तिलक कोइराला लगायतका लगानीकर्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने, शेयर धितो कर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल हट्नूपर्ने र शेयर धितोकर्जामा तोकिएको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने माग उठाइरहेका छन् । 

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमालाई एउटा बैंक वा वित्तीय संस्थाको हकमा ४ करोड र समग्र प्रणालीबाट १२ करोडभन्दा बढी लिन नपाइने गरी क्याप लगाइदिएको थियो । 

यस्तै, रियल इस्टेट र मार्जिन प्रकृतिको (शेयर धितो)कर्जामा  जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो । बढ्नुभन्दा अगाडि यस्तो कर्जाको जोखिमभार १०० प्रतिशत नै थियो । लगानीकर्ताले जोखिमभार सम्बन्धी पुरानै व्यवस्था लागू हुनुपर्ने माग गरिरहेका हुन् ।

लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नर नै अयोग्य भएका भन्दै राजीनामा गर्न नाराबाजी समेत गरिरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया