जेठ ३१ देखि प्राइम बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, वार्षिक ब्याजदर कति ?

४ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्शियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ ३१ गतेदेखि ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । 

वार्षिक १०.१५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

सोमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा सामूहिक लगानी कोषहरुले आवेदन नदिएको बैंकले जनाएको छ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया