काठमाडौं - सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ ।
सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ६६ करोड ७२ लाख रुपैयाँ पाउने भएको हो ।
भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख रुपैयाँ , ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख रुपैयाँ , विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी ६६ करोड ७२ लाख रुपैयाँ बजेट पाएको हो । जसमा चालूतर्फ ४९ करोड ७९ लाख रुपैयाँ र पूँजीगत १६ करोड ९३ लाख रुपैयाँ पाएको हो ।
जिल्लाको पुरानो नगरकारुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ २३ करोड ६९ लाख रुपैयाँ , सशर्ततर्फ ३६ करोड ५० लाख रुपैयाँ, विशेष अनुदान तीन करोड रुपैयाँ र समपूरकतर्फ ५० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । यस नपाले चालूतर्फ ५९ करोड ३४ लाख रुपैयाँ र पूँजीगततर्फ चार करोड ३५ लाख रुपैयाँ बजेट पाएको हो ।
त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ २२ करोड ७७ लाख रुपैयाँ र ससर्ततर्फ ४० करोड आठ लाख रुपैयाँ पाएको छ । जसमा चालूतर्फ ४८ करोड ७५ लाख रुपैयाँ र पूँजीगततर्फ १४ करोड १० लाख रुपैयाँ अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल ६२ करोड ८५ लाख रुपैयाँ बजेट पाएको छ ।
त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत ५० करोड तीन लाख रुपैयाँ मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ २४ करोड १९ लाख रुपैयाँ , ससर्ततर्फ २५ करोड १४ लाख रुपैयाँ र समपूरकमा ७० लाख रुपैयाँ बजेट पाएको छ । जसमा चालूतर्फ ४६ करोड १९ लाख रुपैयाँ र पूँजीगततर्फ तीन करोड ८४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया