मलेसियामा कामदार आपूर्ति गर्न म्यानपावरले ल्याएको मागपत्रको म्याद तीन महिना थप

३ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार आपूर्ति गर्न म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मात्रपत्र प्रमाणित भई पूर्व स्वीकृति लिइसकेका तर जेठ २१ मा म्याद सकिने मागपत्रको म्याद तीन महिना थप गरेका हुन् । 

कोभिड महामारीका कारण मलेसिया सरकार (गृह मन्त्रालय) ले केडिएन प्रमाणीकरणको म्याद एक वर्ष थप गरेको र भिसा आउन समय लाग्ने भएकोले आगामी भदौ २२ गतेसम्मका लागि म्याद थप गरेको मन्त्रालयले जनाएको छ  ।  

लकडाउनअघि म्यानपावर कम्पनीहरूले ल्याएको मागपत्रको म्याद यसअघि पनि ६ महिना थपिएको थियो । २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयन गर्न गत मंसिर २२ गतेदेखि जेठ ३१ गतेसम्म म्याद थप गरिएको थियो । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाबाट  भिसा आउन समय लाग्ने भएकोले केडिएन प्रमाणीकरणको म्याद एक वर्ष थप गर्न माग गर्दै आएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया