काठमाडौं - नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । केन्द्रीय बैंकले जेठ १८ गते बुधबारदेखि ५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८४ बिक्री खुला गरेको हो ।
यस बचतपत्रको अवधि पाँच वर्षको हुने छ भने खरिदकर्ताले वार्षिक १२।५ प्रतिशत ब्याजदर पाउने छन् । बिहीबार जारी गरिएको बचतपत्र २०८४ असार १३ गते परिपक्क हुने छ ।
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी तोकी नेपाली रूपैंयाँमा वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।
बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिने छ । बचतपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने छ । उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेको तथा गैरआवसीय नेपालीले आफु अथवा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
आवेदकले न्यूनतम १० हजार रुपैयाँ भन्दा कमको बचतपत्रमा लगानी गर्न नपाउने व्यवस्था छ । बचतपत्र खरिदका लागि असार १३ गतेसम्ममा आवेदन पेश गरिसक्नुपर्ने छ ।
प्रतिक्रिया