बैशाखसम्ममा बीमाको दायरा १३ प्रतिशतले बढ्यो, १ करोड २३ लाख बढी बीमालेख जारी

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको बैशाखसम्ममा बीमाको दायरा १३ प्रतिशतले बढेको छ । (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) बीमाको दायरा करिब ३९ प्रतिशत माथि पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पूहँच १३ प्रतिशतले बढेर ३९.१२ प्रतिशत पुगेको हो ।

गत आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बीमाको पहुँच २६.९२ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक पनि बीमाको पहुँच ३६.२९ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । गत आर्थिक वर्षका यस अवधिमा बीमाको दायरा २४.५३ प्रतिशत मात्रै रहेको थियो ।

जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड २३ लाख ७१ हजार ६९१ वटा बीमालेख जारी भएको समितिको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ४७.३२ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८३ लाख ९७ हजार ७५५ वटा बीमालेख जारी गरेका थिए ।

यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि २०.०१ प्रतिशतले बढेर ८ लाख ८४ हजार ६६७ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ७ लाख १२ हजार १७८ वटा बीमालेख बिक्री गरेका थिए ।

कुल जीवन बीमालेख संख्या ४९.८५ प्रतिशतले बढेर १ करोड २३ लाख ७१ ह्जार ६९१ वटा पुगेको छ । यस्तै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क पनि १४.६५ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको बीमा समितिको तथ्यांक छ ।

गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा बीमा कम्पनीहरुका ३ हजार २८४ वटा शाखा कार्यालहरुमा ११ हजार ८७५ जना कर्मचारीहरु कार्यरत छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया