‘कबड्डी ४’को घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान, तीन दिन साढे ८ करोड कमाई

३ बर्ष अगाडि

काठमाडौं-  ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ साढे ८ करोड रुपैयाँ छ ।

तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० करोडको आँकडा पार गर्ने अनुमान छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा पहिलो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईको कमाइ १ करोड १२ लाख रुपैयाँ ग्रस छ ।

वान सिनेमाजमा ४५ लाख, बिग र एफक्यूबको कमाइ ४० लाख अनुपातमा छ । बीएसआरमा ३० लाख, पोखराको मिडटाउनमा १२ लाख, गोपीकृष्ण र अष्टनारायणमा २० लाख, रञ्जनामा २१ लाख ग्रस कमाइ छ ।

मुलुकको फिल्म कमाइको एकतिहाइ हिस्सा क्यूएफएक्स एक्लैले ओगट्छ । सोमबार र मंगलबार पनि अकुपेन्सी ८० देखि ९० प्रतिशतमा रहने क्यूएफएक्सको तथ्यांकले देखाउँछ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले अझै केही साता घरेलु बक्स अफिसमा दबदबा कायमै राख्ने प्रक्षेपण छ ।

झण्डै तीन करोड लगानीमा निर्माण भएको फिल्मले रिलिजअघि नै विदेश र डिजिटल अधिकार बिक्रीबाट लगानी सुनिश्चित गरेको छ । मणिराम पोखरेल र बाँसुरी फिल्म्सले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया