एजेन्सी - शनिबार राती रियल मड्रिड र लिभरपुलबीच सम्पन्न च्याम्पियन लिगको फाइनल खेल ३५ मिनेट ढिलो गरी सम्पन्न भयो । प्रतियोगिता आयोजकले यो ढिलाईका लागि ‘नक्कली टिकट’ लिएर खेल हेर्ने प्रयास गरिरहेका मानिस जिम्मेवार रहेको बताएको छ ।
तर रंगशालामा उपस्थित फ्यानहरूले भने यो समस्याका लागि आयोजक जिम्मेबार भएको बताए । लिभरपुलका फ्यानतर्फ थोरै गेट खोलेको र गार्ड पनि थोरै राखेकाले अव्यवस्थित स्थिति सिर्जना भएको तिनले आरोप लगाएका छन् ।
परिणामस्वरुप सक्कली टिकट भएका लिभरपुलका फ्यानको पर्खाई बढ्दै गयो र भिड बढ्दै गएपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपर्यो । पछि कयौ सक्कली टिकट भएका फ्यानहरु समेत तिनको क्लबको सबैभन्दा ठूलो खेल रंगशालामा बसेर हेर्न बञ्चित भए ।
‘खेल सुरु हुनुअघि लिभरपुलका फ्यान प्रवेश क्षेत्रमा नक्कली टिकट लिएका हजारौं फ्यान आएपछि सकली टिकट जाँचेर धेरैभन्दा धेरै फ्यानलाई प्रवेश गराउन ३५ मिनेट थापियो ,’ युइएफएले वक्तव्यमा भनेको छ ।
थपिएको समयमा धेरैभन्दा धेरै फ्यानलाई रंगशालामा प्रवेश गराएपछि उपस्थित भिडमाथि अश्रुग्यास प्रयोग गरिएको प्रहरीले बताएको छ । रंगशाला बाहिर अव्यवस्था मच्चिरहँदा भित्र भने दुईपटक १५ मिनेट लम्बाइएको थियो । बाहिर सम्पूर्ण भिड तितरबितर हुनुअघि नै ३५ मिनेटपछि खेल सुरु गरिएको थियो ।
प्रतिक्रिया