काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा फेरि आवेदन दिने म्याद थप गरिएको छ ।
कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । तर, यो आईपीओमा मागबमोजिम आवेदन नपरेकै कारण दोस्रो जेठ २३ गतेसम्म आवेदन दिने म्याद थप गरिएको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
यसअघि आईपीओको निष्कासन बन्द छिटोमा आज जेठ ८ गते भनिएको थियो । तर, मागबमोजिम आवेदन नपरेका कारण आज जेठ १६ गते बैंकिङ समयसम्म आवेदन दिने म्याद थप गरिएको थियो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशतले हुन आउने ९ करोड रुपैयाँ आईपीओ जारी गरेको छ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ९ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ (साबिकको पाचें गाविसको सबै वडा), मादी गाउँपालिकाको वडा नं. २ (साबिकको नामार्जुन गाविसका सम्पूर्ण वडा), मादी गाउँपालिका वडा नं. ३ र ४ (साबिकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडा) र मादी गाउँपालिकाका वडा नं. ६ र ७ (साबिकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया