एजेन्सी - बेलायतमा सिजनल रोजगारीका लागि ल्याइएका मौसमी नेपाली कृषि मजदुर चर्को शोषणमा परेको सार्वजनिक भएको छ ।
बेलायतको व्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाको संयुक्त खोजले यो विषय सार्वजनिक गरेपछि कामदार भर्नाको ठगी विश्वव्यापी बहसको विषय बनेको छ ।
फलफूल तथा तरकारी टिप्ने कामका लागि बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्म लगिएका नेपाली ठगिएको अध्ययनले देखाएको छ । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट निर्णय लागू गरेको ६ वर्ष भइसकेको छ ।
तर ६ महिनाको मौषमी कामका लागि ५ लाख रुपैयाँ एजेन्टलाई तिर्नुपरेको बेलायत आइपुगेका नेपालीहरूले अनुसन्धानकर्ताहरूलाई बताएको दि गार्डियनले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेकोे छ ।
कामदारहरूले जोन खड्काले सञ्चालन गरेकोे नेपाली कम्पनी ‘माइ करिअर एचआर सोलुसन्स’लाई ५ लाख रूपैयाँ तिरेको बताएका छन् । बेलायतमा हवाई टिकट र भिसा खर्च मात्रै आवेदकले खर्च गर्नुपर्ने बताइएको छ । कामदारले भिसा आवेदन गर्दा लाग्ने कुल खर्च २ सय ५९ पाउण्ड अर्थात् करिब ४० हजार नेपाली रुपैयाँ लाग्ने बताइएको छ ।
बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्ममा काम गर्न १ सय ५० जना नेपाली ल्याइएको र उनीहरू सबैले अवैधरूपमा महँगो शुल्क तिर्नु परेको समाचारमा उल्लेख छ । ती कामदारमध्ये धेरैले बेलायतमा जागिर मिलाइदिने कम्पनीका लागि काम गर्ने एजेन्टहरूलाई उक्त रकम तिरेको दाबी गरेका छन् ।
प्रतिक्रिया