पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ।
मेयर आचार्यले निर्वाचन कार्यालयको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको अभिव्यक्ति दिएका थिए। विजय र्यालीलाई सम्बोधन गर्दै आचार्यले भनेका थिए, “निर्वाचन कार्यालयले धेरै बदनियत गर्यो। शुरूमा जसको उम्मेदवार हुँदैन, त्यसको चुनाव चिह्न राखिँदैन भन्यो। दिनेश थपलिया जीले पत्रकार सम्मेलन गरेरै भन्नुभयो। हामीले यसैगरी चुनाव प्रचार गर्यौं। तर, उम्मेदवार नहुने ठाउँमा चुनाव चिह्न हटेन। ठूलो संख्यामा मत बदर भयो।”
पोखरा महानगरमा मेयरमा १४.२० प्रतिशत अर्थात् २० हजार ३३२ र उपमेयरमा १३.३४ प्रतिशत अर्थात् १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।
विवादास्पद अभिव्यक्ति दिएपछि आचार्यसँग आयोगले २४ घण्टे स्पष्टीबारण मागेको हो। आयोगले ‘के कति कारणले अभिव्यक्त गरेको हो? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन’ भन्दै पत्र काटेको छ।
आयोगमा पत्रमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ समेतका प्रचलित निर्वाचन कानून अनुरुप सम्पन्न भइ अन्तिम मत परिणाम प्रकाशन हुने चरणमा रहेको स्थानीय तह २०७९ को निष्पक्षता र विश्वसनियतामाथि प्रश्न उठाउनु पर्नेको कारण के हो? यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुनु निर्णअुनसार सूचित गरिन्छ।”

प्रतिक्रिया