काठमाडौं - अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा ठूलो सहर काठमाण्डौमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै सर्तहरुमाथि स्वतन्त्र रुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्दछ ।
इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडलमार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन् ।
अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरुभन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्दछ । यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।
चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् । ‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौँ । हाल हामीले आफ्नो सेवा काठमाण्डौ उपत्यकामा सञ्चालन गरिरहेका छौँ र छिट्टै नै नेपालका मुख्य सहरहरुमा उपलब्ध गराउनेछौँ’, इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन्न्, ‘कम्तीमा सेवा सञ्चालनको सुरुआती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन, यसको मतलब उनीहरुले प्रत्येक राइडको सम्पूर्ण शुल्क कर बाहेक आफैंले प्रयोग गर्न पाउनेछन् । त्यसपछि लागू हुने कमिसन काठमाण्डौमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुनेछ । इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकलाई साइन अप गरिसकेको छ ।’
राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्टलगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ । सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेसन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।
इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि एपमार्फत यात्रुले काठमाण्डौको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथसम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।
इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो। इनड्राइभर विश्वकै एउटासबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो । यसका सेवाहरु विश्वभरका ४२ देशका ६०० सहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।
इनड्राइभरले अन्तरसहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन सहरमा डेलिभरीलगायतका अन्य सेवा पनि प्रदान गर्दछ । इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले दिएको छ ।
२०२१ को सुरुआतमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बन्ड क्यापिटलको १५ करोड डलर लगानीसहित युनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।
प्रतिक्रिया