काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ ।
यस अघि जेठ २० गतेका लागि तय गरेको वार्षिक साधारण सभाको मिति कम्पनीले जेठ ३१ गते कायम गरेको हो । कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
यस अघि जेठ ३ गते सूचना जारी गर्दै कम्पनीले जेठ २० गते वार्षिक साधारण सभा गर्ने र त्यसका लागि जेठ ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको थियो ।
नेप्सेले सोही दिन साधारण सभा सम्बन्धी सूचना ढिलो उपलब्ध गराएको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेलाई साधारण सभा र बुक क्लोजको मिति पुनः तोक्ने जानकारी सहितको पत्र पठाएकाले जेठ ६ गतेदेखि कम्पनीको शेयर कारोबार सुचारु भएको थियो । सोही प्रतिवद्धता बमोजिम कम्पनीले पुनः सूचना जारी गर्दै साधारण सभाको मिति र बुक क्लोजको मिति परिवर्तन गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले यस वर्ष ९.८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
पहिलो कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि कम्पनीले ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको चैत १३ गतेको सञ्चालक समितिले गरेको उक्त निर्णय कम्पनीको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले संशोधन गरेको हो ।
संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी ७ करोड २४ लाख ४१ हजारको आधारमा ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया