काठमाडौं- नेपाल धितोपत्र बोर्डमा ५ कम्पनी ऋणपत्र निष्कासनको पालो पर्खिएर बसेका छन् । ती ५ कम्पनीको १ करोड ४१ लाख कित्ता ऋणपत्र थपिने भएको छ ।
४ ओटा वाणिज्य बैंक र एउटा विकास बैंकले उक्त कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन् । ती मध्ये कामना सेवा विकास बैंकले २०७८ साल असार ४ गतेनै ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।
कामना सेवा विकास बैंकले १ अर्ब रुपैंया बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको तयारी गरेको हो । कम्पनीको आवेदन स्वीकृति प्रक्रिया जवाफ र समिक्षा चरणमै रहेको छ । वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी २०७८ साल फागुन १६ गते नेपाल एसबिआई बैंकले ५ वर्षे अवधिको ९.२५ प्रतिशत ब्याजदर उल्लेख ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । सानिमा क्यापिटल लिमिटेडले विक्रीको जिम्मा लिएको यो ऋणपत्रको निवेदन स्वीकृति प्रक्रिया प्राम्भिक समिक्षा अन्तर्गतनै रहेको छ ।
प्राइम कमर्सियल बैंकले १०.१५ प्रतिशत ब्याजदर रहेको ५ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ भने सिद्धार्थ बैंकले १० वर्षे अवधिको १०.७५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । त्यस्तै बैंक अफ काठमाण्डूले ७ वर्षे अवधिको १०.५ ब्याजदरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
प्राइम कमर्सियल बैंकले यस वर्षको वैशाख २२ गते, सिद्धार्थ बैंकले वैशाख २५ गते र बैंक अफ काठमाण्डूले वैशाख २६ गते बोर्डमा निवेदन दिएको हो । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल, सिद्धार्थको कुमारी क्यापिटल र बैंक अफ काठमाण्डूको एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया