काठमाडौं - नेपाल आयल निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि पाक्षिक (१५ दिनको) नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड (मासिक ६ अर्ब ७० करोड) नोक्सानी रहने अनुमान गरेको हो ।
निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा र डिजेलमा २६ रुपैयाँ ८२ पैसा नोक्सानी छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ८७९ रुपैयाँ ७५ पैसा नोक्सानी छ ।
मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन ९आन्तरिक०मा १३ रुपैयाँ ९८ पैसा र वाह्य हवाई इन्धनमा ५९ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले प्रष्ट पारेको छ । यस हिसावले डिजेलमा सबैभन्दा धेरै पाक्षिक १ अर्ब ६९ करोड र ग्यासमा १ अर्ब ४६ करोड नोक्सानी रहने निगमको अनुमान छ ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०० बढाएको थियो । अब पेट्रोल प्रतिलिटर १८०, डिजेल तथा मट्टितेल १६३ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० कायम भएको छ ।
प्रतिक्रिया