एजेन्सी - म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी च्याम्पियन बनेको हो ।
लिभरपुलले वल्भ्समाथि ३-१ को जित निकालेपनि सिटीलाई भेट्न सकेन । ३८ खेलबाट सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो । घरेलु मैदान एतिहाड स्टेडियममा इल्के गुन्डागोनले दुई गोल गरेपछि सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लामाथि शानदार जित हासिल गरेको हो ।
सिटीका लागि अर्को एक गोल रोड्रीले गरे । एस्टन भिल्लाका लागि माटी कास र फिलिप कुटिन्होले एक एक गोल गरे । सिटीले पछिल्लो पाँच सिजनमा चौथो पटक लिग उपाधि जितेको हो ।
यस्तै लिभरपुलका लागि साडियो माने, मोहम्मद सलाह र एन्डी रोबर्टसनले एक एक गोल गरे । वल्भ्सका लागि पेड्रो नेटोले सुरुवाती गोल गरेका थिए । लिगकै अन्य खेलमा वाटफोर्डलाई २-१ ले हराउँदै चेल्सी तेस्रो भयो । चेल्सीले ७४ अंक जोड्यो ।
प्रतिक्रिया