काठमाडौं- अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘भूल भूलैया २’ले पहिलो दिन नै बम्पर ओपनिङ गरेको छ । हरर(कमेडी जनराको यो फिल्मले पहिलो दिन १४ करोड ११ लाख कमाएको फिल्मले दोस्रो दिन बक्सअफिसमा उछाल ल्यायो ।
आइतवार विदाको दिन १८ करोड ३४ लाखको कमाई गर्दै फिल्मले दुई दिनमा ३४ करोड ४५ लाख जोड्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले पहिलो विकेन्डमा फिल्मले ५५ करोड छाप्ने आँकलन गरेका छन् ।
कमाईमा ठूलो गिरावट नआए फिल्मले प्रदर्शनको दोस्रो विकेन्डसम्ममा सय करोडको कलेक्सन गर्ने अनुमान गरिएको छ । ‘भूल भूलैया २’ले २०२२ मा प्रदर्शनमा आएका बलिउड फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको छ । यसअघि फिल्म ‘बच्चन पान्डे’ले पहिलो दिन १३ करोड २५ लाख र फिल्म ‘गंगूबाई काठियावाडी’ले १० करोड ५० लाखको कमाई गर्न सफल भएका थिए ।
‘भूल भूलैया २’ कार्तिकको करिअरको पनि सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ । यसअघि उनी अभिनीत ‘लभ आज कल’ले १२ करोड ४० लाख, ‘पति पत्नी और वो’ले ९ करोड १० लाख, ‘लुका छुपी’ले ८ करोड, ‘प्यार का पंचनामा २’ ले ६ करोड ८० लाख र ‘सोनू के टीटू की स्वीटी’ले ६ करोड ४२ लाख कमाएको थियो । ‘भूल भूलैया २’ले कार्तिकको स्टारडम थप बलियो बनाएको छ ।
प्रतिक्रिया