एजेन्सी - फ्रेन्च क्लब पिएसजीले सिजन २०२१–२२ को अन्तिम खेलमा गोलको वर्षा गरेको छ ।
गए राति भएको घरेलु लिग-१ को ३८औं साताको खेलमा पिएसजीले लिगको १८औं स्थानमा रहेको मेट्जमाथि ५–० को फराकिलो जित निकालेको छ ।
यस खेलमा पिएसजीका युवा स्टार केलियन एमबाप्पेले ह्याट्रिक गोल गरे । क्लबसँग नयाँ सम्झौता घोषणा गरेकै दिन उनले टिमको जितमा ३ गोल गरेका हुन् ।
पिएसजीका लागि खेलको २४औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरेर खाता खोलेका थिए । उनको गोलमा एन्जल डि मारियाले असिस्ट गरेका थिए । त्यसपछि एमबाप्पेले दोस्रो गोल २८औं मिनेटमा गरे ।
लिओनल मेस्सीले दिएको पासमा एमबाप्पेले बक्स भित्रबाट सहजै गोल गरेर अग्रता दोब्बर बनाएका थिए । मेस्सीका लागि यो लिग १ मा सिजनको १४औं असिस्ट थियो ।
त्यसपछि पिएसजीका लागि ३१औं मिनेटमा ब्राजिलियन फरवार्ड नेइमारले तेस्रो गोल गरेपछि पहिलो हाफमा पिएसजीले ३–० को सुविधाजनक अग्रता बनायो । त्यसपछि खेलको ५०औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसअघि मेट्जका मिडफिल्डर ट्राओरे दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि मेट्ज १० खेलाडीमा सीमित भएको थियो ।
त्यसपछि पिएसजीले ६७औं मिनेटमा पाँचौं गोल गर्यो । पिएसजीका लागि करिअरको अन्तिम खेल खेलेका अर्जेन्टिनी विंगर एन्जल डि मारियाले यसपटक अन्तिम खेलबाट अन्तिम गोल गरे ।
सो गोलपछि उनले रुँदै सेलिब्रेसन गरेका थिए । पछि उनी सब्सिच्यूट हुँदा सहकर्मीले विशेष सम्मानका साथ मैदानबाट बिदाइ गरेका थिए । डि मारियाको गोलपछि खेलमा थप गोल भएन ।
पिएसजीले घरेलु लिगमा अन्तिम ४ खेलअघि नै उपाधि जित्दा उसले ३८ खेलबाट ८६ अंक जोड्दै सिजन पूरा गरेको छ ।
प्रतिक्रिया