एजेन्सी - चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० बाट ऋण पाउने आशामा सरकार रहेको छ ।
खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने वाचा गरेका छन् ।
गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निर्णयले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन ।
यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुनसक्छ, तर आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन् ।
श्रीलङ्काले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन् ।
सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ, ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ ।
सात आर्थिक शक्तिहरूको समूहले श्रीलङ्काको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ ।
प्रतिक्रिया