काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी वर्षमा पनि बैंक/वित्तीय संस्थाको नाफा प्रभावित हुने निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकले कोरोना महामारीका लागि चालिएका नीतिगत सहजीकरण फिर्ता भएपछि खराब कर्जा बढ्न जाने र वित्तीय क्षेत्रको नाफा प्रभावीत हुने जनाएको हो ।
राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको स्टे«स टेष्ट समेत गरेर जोखिम बहन क्षमतालाई समेत मापन गरेको छ । नेपाल राष्ट्र बैंकले मापन गरेको जोखिम अनुसार ब्याजदर, विदेशी विनिमय र इक्विटी इन्भेष्टमेन्टमा लगानी न्यून भएकाले त्यो जोखिम बहन गर्ने क्षमता बैंक वित्तीय संस्थाको रहेको औल्याएको छ ।
त्यसैगरी नियामकीय सीमाको सन्दर्भमा पनि हालसम्म बैंक वित्तीय संस्थाहरु सबल नै रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । तर, केन्द्रिय बैंकका अनुसार ठुला तथा बारम्बार आउने धक्कालाई भने नेपाली बैंक वित्तीय संस्थाले धेरै सहन नसक्ने समेत केन्द्रीय बैंकले औल्याएको छ ।
राष्ट्र बैंकका अनुसार कोरोनाको अवधिमा पनि बैंकको खराब कर्जा घटेको, नाफा मै व्यवसाय सञ्चालन गर्न सफल रहेको देखिएको छ । अघिल्लो वर्षमा बैंकहरुको खराब कर्जा कुल कर्जाको १।८९ प्रतिशत रहेकोमा गत वर्ष १।४८ अनुपातमा सीमित भएको छ । तर, तरलता जोखिममा नेपाली बैंकहरु केही कमजोर देखिएका छन् ।
राष्ट्र बैंकका अनुसार ग्राहकहरूले लगातार पाँच दिन दैनिक २ देखि १० प्रतिशतसम्म निक्षेप निकाले भने २७ वाणिज्य बैंकमध्ये १९ वटालाई तरलताको संकट पर्न सक्ने देखिएको छ । एकै दिन निक्षेपको ५ प्रतिशतसम्म झिकिएको अवस्थामा समेत ५ वटा वाणिज्य बैंकले २० प्रतिशतको तरलता अनुपात कायम गर्न नसक्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्ला महिनाहरुमा निजी क्षेत्र तर्फको कर्जा विस्तार करिब २७ प्रतिशत रहेको छ । कर्जा बढ्नुको मुख्य कारण भनेको मनि सप्लाई विस्तार हुनु र सम्पत्तिको मूल्यमा आएको वृद्धिले हो ।
प्रतिक्रिया