काठमाडौं, विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण दिएको छ । स्पष्टिकरण दिएसँगै नेप्सेले कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको छ ।
संस्थाले निर्णय गर्दा भुलवस त्रुटी हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पालना गर्ने प्रतिवद्धता व्यक्त गरी कम्पनीको रोक्का राखिएको धितोपत्रको दास्रो बजार कारोबार सुचारु गरिदिन अनुरोधसहितको पत्र पठाएको हो ।
यसअघि संस्थाले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको हुनाले यस विषयमा के भएको हो र संस्थाको भनाई के छ भन्ने विषय उल्लेख गरी स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले संस्थाको कारोबार रोक्का गरेको थियो ।
संस्थाको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्दै साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया