काठमाडौं, सामाजिक सञ्जाल इन्स्टाग्राममा सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । ‘अल अबाउट डिवी स्किन’ नामक इन्स्टाग्राममा अकाउन्टबाट सौन्दर्य प्रतियोगिता (ब्युटी पेजेन्ट)को नाममा बारम्बार बलात्कार भएको खुलासा गरेकी छिन् । यसबारे उनले २० वटा भिडियो पोष्ट गरिएकी छन् ।
पीडितले भिडियोमा भनेको भनाई जस्तो तस्तैः
ममाथि के भएको थियो भनेर थाहा पाउनका लागि मेराबारे तपाईंहरुले केही कुरा थाहा पाउनुपर्छ । ६–७ वर्षको हुँदा नै मैले ३–४ वटा फिल्म खेलेकी थिएँ । म ठूलो भएपछि म मोडल वा नायिका हुन्छु भन्ने थियो ।
हाउस अफ फेसनमा अडिसनका लागि गएको थिएँ, म छानिइनँ । तर अडिसनको फोटो आएपछि मैले एकजनाबाट मेसेज पाएँ । उसले मलाई फोटोसुट गरौँ भनेर भने । म असाध्यै खुसी थिएँ । किनभने म मोडल बन्न चाहन्थेँ । म त्यहाँ गएँ, एउटा प्रतिष्ठित अनलाइनका फोटोपत्रकारले मेरो फोटो खिचे । ती दुबैजना मिलेर मेरो फोटो खिचे । उनीहरुले मलाई पाँच हजार पनि दिए । ती पीडकले मलाई आफूले सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैले त्यसमा भाग लिनुपर्ने पनि उनले बताए ।
मैले त्यसअघि पनि सुन्दरी प्रतियोगितामा भाग लिइसकेको थिएँ । त्यसैले मैले त्यो कुरा मानेँ । म उक्त सुन्दरी प्रतियोगिताको फर्स्ट रनर अप पनि भएँ । मैले जुन मिस नेपालको कुरा गरिरहेकी छु, उहाँ हाम्रो त्यतिबेलाको कोरियोग्राफर हुनुहुन्थ्यो । म यहाँ कसैको नाम पनि उल्लेख गर्दिनँ । मलाई कसैले यस्तो गर्नका लागि आग्रह पनि नगर्नुहोला । किनभने यत्रो वर्षपछि मैले राखेको प्रमाणहरु पनि मसँग छैन । मैले कल रेकर्डिङ, टेक्स्ट मेसेज सबै राखेकी थिएँ, मेरो ड्राइभमा । तर यत्तिका वर्षहरुमा मैले ती रेकर्डिङ र टेक्स्ट मेसेज हेरेर सुनेर फेरी एक्लै रोइरहन्थे । त्यसैले मैले सबै डिलिट गरेँ, यस्तै २०१८ तिर । अहिले मसँग कुनै पनि प्रमाण छैन ।
म फर्स्ट रनर अप भएपछि ती व्यक्तिले मलाई फोन गरे । फोनमा ती व्यक्तिले ‘तिमी रेडी भएर आऊ, किनभने हामी सक्सेस पार्टीको आयोजना गरिरहेका छौँ ।’ म उनले बोलाएको एभरेष्ट होटल गएँ । त्यहाँ जाँदा मैले कोही पनि देखिनँ । खोइ त सबै जना ? मैले सोधेको जवाफमा उनले भने, ‘तिमी अलि नै छिटो आयो, हाम्रो पार्टी ६–७ बजेतिर सुरु हुन्छ । त्यसैले तिमी बस्दै गर’ ।
केही समयपछि एकजना वेटर आए, लेमोनेड लिएर । उनले मलाई त्यो ‘वेलकम ड्रिङ्क’ हो भने । मैले त्यो खाएँ । त्यसको १०–१५ मिनेटमा मलाई झुम्म लागेको जस्तो भयो । त्यसपछि मैले ती व्यक्तिलाई म घर जान्छु भनेँ । म त्यतिबेला सहज महसुस गरिरहेकी थिइनँ । त्यसपछि उनले मलाई , ‘तिमी बिजेता भएर यस्तो गर्ने ? भोलि मान्छेले के भन्छ, मिडियाले के भन्छ ?’ भनेर गाली गरे । मलाई पनि हो जस्तै लाग्यो ।
यस्तै हुन्छ भनेर मैले एउटा रुम लिएर राखेको छु । किनभने केटीहरुले आज पिउन पनि सक्छन् भन्ने लागेको थियो । गाह्रो भएको केटीहरुलाई राख्नका लागि मैले एउटा कोठा लिएर राखेको छु, तिमी जाउ, त्यहाँ आराम गर । सबैजना आएपछि तिमीलाई बोलाउन कसैलाई पठाउँछु भने ।’ म त्यहाँ गएँ ।
म त्यतिबेला १६ वर्षकी थिएँ । मेरो घरीघरी मात्रै होस खुलिरहेको छ, त्यतिबेला उनले ममाथि बलात्कार गरिरहेका थिए । मेरो कहिलेकाँही मात्रै होस खुल्थ्यो । मेरा होस खुलिरहेका बेला उनले मलाई बलात्कार गरिरहेको थाहा पाउँथेँ । मलाई असाध्यै दुखिरहेको थियो । मेरो बिहान साढे पाँच, साढे ६ बजेतिर मात्रै पूर्ण रुपमा होस् खुल्यो । मैले मसँगै एक नग्न व्यक्ति सुतिरहेको देखेँ । म पनि पूर्ण रुपमा नग्न थिएँ । बेडमा रगत थियो । त्यसपछि म असाध्यै ठूलो स्वरमा रुन थालेँ । त्यसपछि त्यो मान्छेले मलाई ‘मैले तेरो ब्यागमा २० हजार हालिदिएको छु, तँ त्यो लैजा’ भन्यो ।
उसले मलाई के भनिरहेको थियो भने, ‘तँलाई पैसा चाहिएको थियो, पैसाका लागि मसँग यौनसम्बन्ध राख्नु भनेर भनिरहेको थियो । त्यसैले हामीले यस्तो गरेका हौँ ।’ म ढोका नजिकै उभिएको थिएँ । ढोका बन्द थियो । नग्न । मैले पैसालाई हेरिरहेको थिएँ, मैले त्यो व्यक्तिलाई हेरिरहेको थिएँ । मैले आफूलाई ऐनामा हेरिरहेको थिएँ । ममाथि जे भयो, त्यसलाई मैले विश्वास नै गर्न सकिरहेको थिइनँ । मैले यो विश्वास गर्न सकिनँ कि म बलात्कृत हुन सकूँला । किनभने म शिक्षित थिएँ, म पहिलादेखि नै एकदमै स्ट्रङ नेचरको मान्छे थिएँ, असाध्यै बोल्नुपर्ने तर मैले त्यतिबेलाको वास्तविकतालाई स्वीकार गर्नै सकिरहेको थिइनँ ।
उसले मलाई मैले तेरो फोटो, भिडियो खिचेको छु, तैँले कसैलाई भनिस् भने तेरो फोटो मिडियामा सार्वजनिक गरिदिन्छु भनेर धम्की दियो । म असाध्यै आत्तिएँ । मैले आफ्नो लुगा लगाएँ । ब्याग लिएँ, उसले मेरो लागि ट्याक्सी बोलाइदियो, मेरो मोबाइलमा दुई सय बढी मिसकल थियो, मेरो आमाबुवाको । किनभने म त्यसदिन घर फर्किने वाला थिएँ ।
उसले मलाई धम्की दिएपछि मैले त्यो कुरा कसैलाई पनि भन्न सकिनँ । म रुन पनि सकिनँ । यो सिलसिला ६ महिनासम्म चल्यो । उसलाई सेक्स गर्न मन लागेको बेलामा मलाई फोन गरेर बोलाउँथ्यो । म जान्थेँ । मलाई असाध्यै घिन लाग्थ्यो, उसले मलाई धेरैथरी गर्न लगाउँथ्यो । उसले मलाई उसको साथीहरुसँग पनि सुत्न बाध्य तुल्यायो, त्यो पनि उसको अगाडि । म यसबारे डिटेलमा भन्न सक्दिनँ । किनभने यो सुन्ने मान्छे नै विक्षिप्त हुन्छन् ।
एक समयमा त म यति असहाय महसुस गर्न थालेँ कि मलाई मर्न मन लाग्यो । मरेपछि यो सबै पीडा समाप्त हुन्छ भन्ने लाग्थ्यो । मैले आत्महत्या गर्नै लागेको थिएँ, त्यतिबेलाका मेरा प्रेमीले मलाई फोन गरे । म असाध्यै विक्षिप्त भएर उनलाई सबैकुरा भनेँ । उनले मलाई यो मलाई पहिला नै किन नभनेको, म तिमीलाई पहिला नै सहयोग गर्थेँ भन्यो । उसले मलाई त्यतिबेला निकै सहयोग गर्यो । मलाई असाध्यै साहस दियो । ऊ र म भएर, त्यो मान्छेको कन्सलटेन्सी पनि छ, त्यहाँ गयौं । हामीले सबै मान्छेलाई बाहिर निकालेर, कन्सल्टेन्सीको स्टाफहरुलाई त्यहाँ राखेर, त्यो मान्छेलाई त्यहाँ राखेर, त्यो फोटोग्राफरलाई त्यहाँ राखेर । मसँगै बिजेता बनेकी एकजना केटी पनि आएकी थिइन्, सबैजनालाई राखेर, मैले उनीहरुलाई सबै टेक्स्ट मेसेज देखाएँ । सबै कल रेकर्डिङ बजाएर र सबैजनालाई उनले ममाथि के कति गरे भनेर बताएँ । मेरो त्यतिबेलाका प्रेमी अत्यधिक रिसाए । उनले ती व्यक्तिमाथि कुटपिट पनि गरे । मैले एक झापड हान्न भ्याएँ ।
त्यो कन्सलटेन्सीमा काम गर्ने एकजना दाइलाई मेरो कुरा सुनेपछि यति नराम्रो लागेछ कि उनले ‘दाइ म तपाईंसँग काम गर्न सक्दिनँ, प्लिज मलाई तलब पनि नदिनु, मलाई फोन पनि नगर्नु, म आजदेखि यहाँबाट निस्किएँ’ भनेर उहाँ निस्केर जानु भयो ।
त्यतिबेला मैले ती मिस नेपाललाई फोन गरेँ । त्यतिबेला मैले उनलाई ‘म्याम, यी व्यक्तिले यत्तिका दिनदेखि मलाई यस्तो यस्तो गर्दै आएका छन्, ममाथि यस्तो कुरा भइरहेको छ, यो ६ महिनासम्म चल्यो र मैले आफ््नोबारे धेरै पछि कुरा गर्न सक्ने भएको छु । हामी यो अफिसमा छौँ । कृपया यहाँ आएर, हामीलाई सहयोग गरिदिनुहोस् न भनें ।’
उनले मलाई जे भनेकी थिइन्, ठ्याक्कै त्यही भन्दै छु, ‘तिमीले मसँग यो कुरा किन गरिरहेकी छौ । तिमी बलात्कृत भयौ भने त यो तिम्रो समस्या हो, यो मेरो समस्या होइन, मलाई किन सुनाइरा रु’ त्यसपछि उनले फोन काटिदिइन् । मैले उनलाई आइडलको रुपमा हेर्थेँ । मलाई थाहा छ, तपाईंले यो हेरिरहनुभएको छ । अन्तरवार्तामा महिलावादको कुरा गर्दा, म महिलाहरुलाई सहयोग गर्छु, मलाई जसले आएर जे भनेपनि म उसलाई सहयोग गर्छु भनिराख्दा कस्तो महसुस हुन्छ रु त्यतिबेला तपाईं ३३ वर्षकी हुनुहन्थ्यो, म १६ वर्षकी ।
ठिक छ तिमीले त्यो संस्थाबाट पैसा लिएको छौ, त्यो मान्छेबाट पैसा लिएको छौ, कोरियोग्राफरको रुपमा, त्यो मान्छेको नुन खाएको भएर सोझो गर्यौ । म यसमा पूर्ण सहमत । तर एउटा महिला भएको नाताले, अर्की बालिकालाई समर्थन गर्नुपर्ने होइन रु तपाईंले अर्को वा अरु कसैको नम्बरबाट फोन गरेर, ‘के गरिरहेको छौ बच्चा, कसरी अघि बढिरहेकी छौ ?’ भनेर सोध्न सक्नुहुन्थ्यो । किनभने यसले मान्छेलाई अत्ति नै धेरै विक्षिप्त बनाएको हुन्छ नि त । उनले मलाई यो त केही पनि होइन भनेर महसुस गराइन् ।
त्यसपछि हामीले पीडकलाई ती सबै फोटो र भिडियो डिलिट गर्न लगायौँ । हाम्रै आँखा अगाडि उनले डिलिट गरे । उसले ब्याकअप राख्यो वा के गर्यो, त्यो थाहा छैन, मलाई मतलब पनि छैन । उसले मलाई अहिले एक्सपोज गर्यो भने पनि मलाई मतलब छैन । यदि कसैले मलाई नग्न देख्यो वा कोहीसँग यौनसम्बन्ध स्थापित गरिरहेको अवस्थामा देख्यो भने पनि अब मलाई मतलब छैन ।
पछि मलाई के महसुस भयो भने यो त मेरै गल्ती थियो । सुन्दरी प्रतियोगितामा भाग लिन जानु नै मेरो गल्ती भएको भन्ने मलाई लाग्यो । त्यो मेरो गल्ती थियो कि मैले त्यो लेमोनेड खाएँ । त्यो मेरो गल्ती थियो ।
तर अहिले मलाई के लागेको छ भने त्यो मेरो गल्ती थिएन ।
पूर्व मिस नेपालले मागिन् माफी
सुस्मिताको भिडियोमा पीडकपछि सबैभन्दा धेरै विवादमा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि मुछिएकी छिन् । सामाजिक सञ्जालमा माल्भिकामाथि विभिन्न टीका टिप्पणी हुन थालेपछि उनले लामो स्टेटस लेखेर सुस्मितासँग माफी मागेकी छिन् ।
उनले लेखेकी छिन्, ‘सामाजिक मिडियामा निकै निडर भएर आफूमाथिको दुर्व्यवहारबारे बताउने उनीप्रति गरेको व्यवहारका लागि म माफी माग्छु ।’
उनले पिडितलाई सम्बोधन गर्दै लेखेकी छिन्, ‘मैले जे गरेँ, मलाई थाहा छ, त्यो माफीको लायक छैन । त्यसैले म हृदयदेखि नै माफी माग्न चाहन्छु । मलाई त्यतिबेलाको सबै जानकारी त याद छैन तर तिमीले मलाई फोन गरेको र आफूमाथि जे भयो, त्यसबारे कुरा गर्न खोजेको भने याद छ । तिमीलाई मेरो सबैभन्दा बढी आवश्यकता भएको बेलामा मैले कुरा गर्न नखोजेको पनि मलाई याद छ । यो माफीको लायक छैन । तर म के भन्न चाहन्छु भने तिमीलाई राम्रोसँग नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई समर्थन नगरेकोमा म माफी माग्न चाहन्छु ।’
यद्यपि, तिमीले त्यतिबेला ‘बलात्कार’ भन्ने शब्द प्रयोग गरेको र तिमीले भनेको जस्तै गरी मैले प्रतिक्रिया दिएको भन्ने स्मरण भने छैन । तर तिमीले अहिले आफू बलात्कृत भएँ भनेको सुन्दा म विक्षिप्त भएँ र म तिमीलाई विश्वास गर्छु ।’
‘अब मैले आफैँलाई हेर्ने दृष्टिकोणमा भिन्नता आएको छ । तिम्रो पोस्ट हेर्दा र जे जति भयो त्यसका लागि म मात्रै जिम्मेवार छु भन्ने थाहा पाउँदा मैले आफैँले आफैलाई माफी दिन सक्दिनँ ।’
मलाई थाहा छ, ढिला भइसक्यो तर तिमीलाई अब म जतिसक्दो सहयोग गर्छु र तिम्रो माफीको लायक हुनेछु । सबैभन्दा ठूलो कुरा तिमी यसबाट बाहिर निस्किएको, म हेर्न चाहन्छु । यसका लागि तिमीलाई मबाट जे जति सहयोग चाहिन्छ, म त्यो गर्न चाहन्छु । तिमी यसबाट पूर्ण रुपमा बाहिर ननिस्किएसम्म म नारीवाद र यौन हिंसासम्बन्धि प्लेटफर्मबाट टाढै रहनेछु । म सार्वजनिक रुपमा कमै देखिँदा तिमीलाई शान्ति मिल्छ भने म त्यो गर्न पनि तयार छु । तिमीले मलाई भेटेरै आफ्नो रिस पोख्न मन लागेको छ र मैले तिमीलाई भेटेरै माफी माग्दा तिमीलाई अलिकति राहत मिल्छ भने म त्यो गर्न पनि तयार छु । तिमीलाई निको हुन जे जति गर्नुपर्छ, म त्यो गर्न तयार छु ।’
पूर्व मिस नेपाल खतिवडाले दिइन साथ
पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पनि ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल भएकी सुस्मितालाई सम्बोधन गर्दै आफ्नो स्टोरीमा उनलाई हिम्मत बढाएकी छिन् । उनले लेखेकी छिन्, ‘प्रिय सुस्मिता, तिम्रो कुरा सुन्दा म निकै दुःखी भएँ । काश, म त्यो समयमा जान सक्थेँ र तिमीलाई भन्न सक्थेँ कि ‘त्यो तिम्रो गल्ती थिएन’ । तिम्रो पक्षमा हामी सबैजना छौँ र तिमीले आवाज उठाउनु राम्रो हो है भनेर काश, मैले तिमीलाई भन्न सक्थेँ ।’
उनले थपिन्, ‘मलाई माफ गर, तिमीलाई त्यो पीडकबाट सुरक्षा दिन हामीले तिमीलाई त्यो सुरक्षित समाज दिन सकेनौँ । मलाई माफ गर, तिमीलाई बारम्बार सुरक्षा दिन, तिम्रो कुरा सुन्न र तिमीलाई न्याय दिलाउन हामी असफल भयौँ ।’
यसका साथै, अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीले पनि एक पुरुष भएको नाताले सुस्मितासँग माफी मागेका छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा लेखेका छन्, ‘तिमीले एक पुरुष पात्रका कारण यति कम उमेरमा नै हिंसा सहनु परेकोमा एक पुरुष भएको नाताले माफी माग्छु ।’
यसका साथै, अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘निकै सानो उमेरमा यस्तो कुरा सहेकी यी बहिनीले कस्तो अवस्था पार गरिन् भनेर म सहन पनि सक्दिनँ । त्यो अनुभवसहित बाँच्दा तिमीलाई पक्कै सकसपूर्ण रह्यो । माफ गर बहिनी, तिम्रो आवाज सुनिएन । बेवास्ता गरियो ।’
यसका साथै रबिन एन्ड द न्यू रेभुलेशनका फ्रन्टम्यान रबिन तामाङले पनि सुस्मिताको बयान आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । उनले सुस्मिताको भिडियो सेयर गर्दै लेखेका छन्, ‘मैले यो सेयर गर्नु पर्छ कि पर्दैन भन्ने थाहा छैन तर मलाई तपाईंहरुले उनको कुरा सुन्नुपर्छ जस्तो लागेको छ । तपाईंले आफ्नै धारणा बनाउन सक्नुहुन्छ ।’
यसका साथै अभया एन्ड द स्टिम इन्जिन्सकी फ्रन्टम्यान अभया सुब्बाले पनि सुस्मिताको केस थाहा पाएपछि आफू निकै दुःखी भएको बताएकी छिन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, ‘कम उमेरकी एउटी केटीले आफू बलात्कृत भएको कुरा सुनाउँदा कसैले पत्याएनन भनेर थाहा पाउँदा निकै दुःखी र विचलित छु । तर यो कथा उनलाई कसले पत्याएन भन्नेबारे होइन, यो कथा उनलाई बलात्कार गर्ने अपराधीबारे हुनुपर्छ । यसमा कुनै शंका छैन कि उनलाई अनुसन्धान वा मद्दत नगर्ने पूर्ण रुपमा जवाफदेही हुनुपर्छ । उनले पूर्ण न्याय पाऊन् ।’
प्रतिक्रिया