काठमाडौं, सेञ्चुरी कमर्शियल बैंक र एनएमवि बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा समय थप्दा पनि आधाभन्दा कम मात्र बिक्री भएको छ।
अहिले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै पाइन थालेको अवस्थामा बैंकहरुले ११ प्रतिशतभन्दा कम ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याउदा ऋणपत्र बिक्री गर्न कठिन भएको हो।
सेञ्चुरी कमर्शियल बैंकले बैशाख २१ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था थियो।
तर बैंकले बिक्रीमा लएको ऋणपत्रमा जेठ ४ गतेसम्ममा ४ लाख ७५ हजार २२० कित्ता मात्रै खरिद आवेदन परेको छ। यो भनेको कुल बिक्रीमा ल्याएको ऋणपत्रको झण्डै आधा हो।
यसैगरी, एनएमबि बैंकले पनि प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता उर्जा ऋणपत्र बिक्रीमा ल्याएकोमा २१ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको हो। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन व्यवस्था थियो।
तर उक्त ऋणपत्रमा पनि सर्वसाधारणको उपस्थिति निकै कम देखिएको छ। बैंकको उक्त ऋणपत्रमा ४ लाख १६ हजार ४४५ कित्ता खरिदको लागि मात्र आवेदन परेको छ।
दुबै बैंकले बिक्रीमा ल्याएको ऋणपत्र बुधबारदेखि बिक्री बन्द भइसकेको छ। तर त्यसमा आधाभन्दा धेरै ऋणपत्र भने बिक्री हुन सकेन।
लगानी गर्नको लागि ऋणपत्रलाई सुरक्षित उपकरणको रुपमा लिइन्छ तर बैंक तथा वित्तीय संस्थाले बिक्री गर्ने ऋणपत्र दोस्रो बजारमा सहजै खरिदबिक्री हुन नसक्दा पनि यसमा लगानीकर्ताको चासो कम देखिएको हो।
प्रतिक्रिया