सरकारले भैरहवाबाट श्रम स्वीकृति नदिए जजिराको उडान प्रभावित हुने

३ बर्ष अगाडि

काठमाडौं - जजिरा एयरवेजले उडान शुरूवात गरेकोे हप्ता दिन नहुँदै सरकारले भैरहवाबाट वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने व्यवस्था शुरु नगरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न कठिन हुने बताएको छ ।

उक्त विमान कम्पनीले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यावसायिक उडान शुरु गरेको हो । हाल काठमाडौंमा श्रम स्वीकृति भएका व्यक्तिलाई बसबाट भैरहवा लैजाने गरिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  नेपालका लागि जजिरा एयरवेजका जनरल सेल्स एजेण्ट ९जीएसए० सोसाइटी इन्टरनेशनलका अध्यक्ष रविचन्द्र सिंहले सधैं काठमाडौंबाट भैरहवा यात्रु ओसारेर अन्तर्राष्ट्रिय उडान गर्न आर्थिक दृष्टिकोणले सम्भव नहुने बताए । 

हाल जजिराले सोमबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन भैरहवाबाट राति साढे दुई बजे उडान भर्ने तालिका सार्वजनिक गरेकोे छ । 

जजिराले बुधबार १ सय ३० जना यात्रु मात्रै लिएर उडेको बताएको छ । ७५ हजार रुपैयाँ खर्च गरेर काठमाडौंबाट भैरहवासम्म लगेर उडान शुरु गरेको बताउँदै सिंहले सधैंभरी काठमाडौंबाट यात्रु लगेर उडान गर्न नसकिने बताए । 

कुवेतबाट जजिराले बेलायत, अष्ट्रिया, दोहा, ओमानलगायतका देशमा उडान गरिरहेकाले भैरहवाबाट सिधै बेलायतलगायतका गन्तव्यका लागि टिकट काट्न सकिने पनि उनले बताए । 

रातिको समयमा उडान गर्दा स्थानीय यात्रुलाई असहज भएकाले उडान समय परिवर्तन गर्ने विषयमा पनि कम्पनीले गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया