काठमाडौं - मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको हो ।
सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अन्सारीलाई निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा प्रहरीले समातेको हो ।
उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेको बताइएको छ । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई आयोगको अध्यक्ष नियुक्त गरेका थिए । उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पु¥याउन नसक्दा स्वतः उनको नियुक्ति सदर भएको थियो ।
यस्तै मोरङको कानेपोखरीमा गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका २ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् ।
प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो । झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया